नियम ४२
एकल सङ्क्रमणीय मत प्रणाली बमोजिमको निर्वाचनको मत गणना
(१) निर्वाचन अधिकृतले अध्यादेशको दफा ३ बमोजिमको एकभन्दा बढी सदस्य निर्वाचित गर्नु पर्ने कुनै समूहको लागि प्रयोग भएको मतपत्र गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछ ः- (क) नियम ४० को उपनियम (३) बमोजिम सदर मतगणना गरी जम्मा सदर मत यकिन भएपछि अध्यादेशको दफा ५५ बमोजिमको मतभार अनुसार प्रत्येक उम्मेदवारले प्राप्त गरेको पहिलो प्राथमिकताको मतको आधारमा कुल सदर मत  कायम गर्ने, (ख) खण्ड (क) बमोजिम कुल सदर मत मूल्य कायम गरे पछि सोको आधारमा देहाय बमोजिमको सुत्र प्रयोग गरी कोटा निर्धारण गर्ने, यसरी कोटा निर्धारण गर्दा दशमलव पछाडिको अङ्कलाई नलिई दशमलव अगाडिको अङ्कलाई मात्र लिने ः-                                             कुल सदर मत मूल्य            + १                कोटा    =    (निर्वाचित गर्नु पर्ने सङ्ख्या  + १) (ग) खण्ड (क) बमोजिम मतगणना गर्दा कुनै पनि उम्मेदवारले प्राप्त गरेको पहिलो प्राथमिकताको मत कोटा वा सो भन्दा बढी भएमा त्यस्तो उम्मेदवार निर्वाचित भएको घोषणा गर्ने, (घ) खण्ड (क) बमोजिम कुनै उम्मेदवारले कोटा बमोजिमको मत प्राप्त गर्न नसकेमा सबै भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारलाई मत गणना प्रकृयाबाट बाहेक गरी निजले प्राप्त गरेको मतपत्रमा अङ्कित दोस्रो प्राथमिकताको उम्मेदवारलाई वितरण गर्ने र यसरी मत वितरण गर्दा कुनै उम्मेदवारले कोटा बमोजिम वा सो भन्दा बढी मत प्राप्त गरेमा निजलाई निर्वाचित भएको घोषणा गर्ने, (ङ) खण्ड (घ) बमोजिम कुनै उम्मेदवारलाई बाहेक गरी निजले प्राप्त गरेको मत वितरण गर्दा समेत कुनै पनि उम्मेदवारले कोटा बमोजिमको मत प्राप्त गर्न नसकेमा कायम रहेका उम्मेदवार मध्ये सबै भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारलाई मतगणना प्रकृयाबाट बाहेक गरी निजले प्राप्त गरेको मत मतपत्रमा अङ्कित दोस्रो प्राथमिकताको उम्मेदवारलाई वितरण गर्ने र यसरी मत वितरण गर्दा कुनै उम्मेदवारले कोटा बमोजिमको मत प्राप्त गरेमा त्यस्तो उम्मेदवारलाई निर्वाचित भएको घोषणा गर्ने र कुनै पनि उम्मेदवारले कोटा बमोजिमको मत प्राप्त नगरेमा कुनै उम्मेदवारले त्यस्तो मत प्राप्त नगरेसम्म यो प्रकृयालाई जारी राख्ने, (च) खण्ड (क) बमोजिम पहिलो प्राथमिकताको मत गणना गर्दा वा खण्ड (घ) र (ङ) बमोजिम दोस्रो वा तेस्रो प्राथमिकताको मत वितरण गर्दा कुनै उम्मेदवारले कोटा भन्दा बढी मत प्राप्त गरेमा त्यस्तो उम्मेदवारले प्राप्त गरेको बढी मत लगतै पछिको प्राथमिकताको उम्मेदवारलाई वितरण गरी गणना गर्ने, स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “बढी मत” भन्नाले निर्वाचित भएको उम्मेदवारले प्राप्त गरेको कोटा भन्दा बढी भएको मत सम्झनु पर्छ । (छ) खण्ड (च) बमोजिम कोटा भन्दा बढी मत प्राप्त गरी निर्वाचित भएको उम्मेदवारले प्राप्त गरेको त्यस्तो बढी मतलाई निजले प्राप्त गरेको कूल मतले भाग गर्ने र प्राप्त भागफललाई निर्वाचित भएको उम्मेदवारको हकमा कायम रहेको मत मूल्यले गुणन गरी प्रत्येक मतपत्रको सङ्क्रमण मूल्य निर्धारण गर्ने, (ज) खण्ड (च) बमोजिम निर्वाचित भएको उम्मेदवारको बढी मत वितरण गर्दा त्यस्तो उम्मेदवारको हकमा कायम रहेको प्रत्येक मतपत्रमा निज भन्दा लगतै पछिको प्राथमिकता दिइएको उम्मेदवारको आधारमा छुट्याई खण्ड (छ) बमोजिमको सङ्क्रमण मूल्यको आधारमा वितरण गरी निर्वाचित हुन बाँकी उम्मेदवारले प्राप्त गरेको कूल मत कायम गर्ने, (झ) खण्ड (ज) बमोजिम कुल मत मूल्य कायम गर्दा कुनै उम्मेदवारले कोटा बमोजिमको मत प्राप्त गरेमा त्यस्तो उम्मेदवार निर्वाचित भएको घोषणा गर्ने, (ञ) खण्ड (झ) बमोजिम निर्वाचित भएको उम्मेदवारले कोटा भन्दा बढी मत प्राप्त गरेमा खण्ड (छ) बमोजिम निजले प्राप्त गरेको मतपत्रको सङ्क्रमण मूल्य निर्धारण गर्ने र त्यस्तो मत निज भन्दा लगतै पछिको प्राथमिकताको उम्मेदवारलाई वितरण गरी निर्वाचित हुन बाँकी उम्मेदवारले प्राप्त गरेको कूल मूल्य कायम गर्ने, (ट) खण्ड (च) वा (ञ) बमोजिम बढी मत वितरण गर्दा कुनै उम्मेदवारले कोटा बमोजिमको मत प्राप्त गर्न नसकेमा खण्ड (घ) र (ङ) मा उल्लिखित प्रकृया बमोजिम सबै भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारलाई मतगणना प्रकृयाबाट बाहेक गरी निजलाई प्राप्त भएको मत निजको हकमा कायम रहेको मूल्यमा निज भन्दा लगतै पछिको प्राथमिकताको उम्मेदवारले पाएको मतमा गणना गर्ने र कोटा बमोजिमको मत प्राप्त गर्ने उम्मेदवारलाई निर्वाचित भएको घोषणा  गर्ने, (ठ) खण्ड (ट) बमोजिम निर्वाचित हुँदा समेत आवश्यक सङ्ख्यामा उम्मेदवार निर्वाचित नभएमा आवश्यक सङ्ख्यामा उम्मेदवार निर्वाचित नभएसम्म खण्ड (ञ) र (ट) बमोजिमको प्रकृयालाई जारी राख्ने । (२) उपनियम (१) को खण्ड (घ), (ङ), (च), (ञ) र (ट) मा जुनसुकै कुरा लेखिएको भए तापनि निर्वाचित हुने उम्मेदवारले पाएको बढी मत वा मतगणना प्रकृयाबाट बाहेक गरिएको उम्मेदवारले पाएको मत दोस्रो प्राथमिकताको उम्मेदवारलाई वितरण गर्नु पर्नेमा त्यस्तो उम्मेदवार निर्वाचित भई सकेको वा मतगणना प्रकृयाबाट बाहेक भई सकेको अवस्था भएमा त्यस्तो मत तेस्रो प्राथमिकताको उम्मेदवारलाई वितरण गर्नु पर्नेछ । (३) उपनियम (१) को खण्ड (च), (ञ) र (ठ) मा जुनसुकै कुरा लेखिएको भए तापनि निर्वाचित भएको उम्मेदवारलाई प्राप्त भएको बढी मत मूल्य एक (१.०) भन्दा कम भएमा त्यस्तो मत वितरण गर्नु पर्ने छैन । (४) उपनियम (१) को खण्ड (च), (ञ) र (ठ) मा जुनसुकै कुरा लेखिएको भए तापनि खण्ड (ग), (घ), (ङ), (झ) र (ट) बमोजिम आवश्यक सङ्ख्यामा उम्मेदवार निर्वाचित भएमा निजहरुले पाएको मत अर्को प्राथमिकताको उम्मेदवारलाई वितरण गर्नु पर्ने छैन । (५) उपनियम (१) बमोजिम सङ्क्रमण मूल्य निर्धारण गर्दा दशमलव पछिको पाँचवटासम्म अङ्कलाई कायम गर्नु पर्नेछ । (६) उपनियम (१) बमोजिम मत गणना गर्दा एक भन्दा बढी उम्मेदवारले कोटा भन्दा बढी मत प्राप्त गरी निजहरुले पाएको बढी मत अर्को प्राथमिकताको उम्मेदवारलाई वितरण गर्नु पर्ने भएमा त्यसरी निर्वाचित हुने उम्मेदवार मध्ये बढी मत प्राप्त गर्ने उम्मेदवारले पाएको मत पहिले वितरण गर्नु पर्नेछ । तर त्यसरी निर्वाचित उम्मेदवारले बराबर मत पाएको अवस्थामा गोला प्रथाको माध्यमबाट कुनै एक जना उम्मेदवारले पाएको मत पहिले वितरण गर्नु पर्नेछ । (७) उपनियम (१) बमोजिम आवश्यक सङ्ख्याका उम्मेदवारले कोटा बमोजिमको मत प्राप्त नगरेको अवस्थामा कम मत प्राप्त गर्ने उम्मेदवारलाई मत गणना प्रकृयाबाट बाहेक गर्दा एक भन्दा बढी उम्मेदवारले बराबर मत प्राप्त गरेमा गोला प्रथाको माध्यमबाट कुनै एक जना उम्मेदवारलाई पहिले बाहेक गर्नु पर्नेछ । तर मतगणनाको कुनै चरणमा सबैभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारलाई मतगणना प्रकृयाबाट बाहेक गर्नु पर्ने अवस्थामा सो चरणसम्ममा मत प्राप्त नगरेका उम्मेदवार भएमा मत प्राप्त नगर्ने सबै उम्मेदवारलाई एकैपटक मतगणना प्रकृयाबाट बाहेक गर्नु पर्नेछ । (८) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) को खण्ड    (घ), (ङ) र (ट) बमोजिम कम मत पाउने उम्मेदवारलाई मतगणना प्रकृयाबाट बाहेक गर्दै जाँदा जति जना सदस्य निर्वाचित गर्नु पर्ने हो त्यति नै सङ्ख्याका उम्मेदवार मात्र बाँकी रहेमा त्यस्ता उम्मेदवारले कोटा बमोजिमको मत प्राप्त नगरे तापनि त्यस्ता उम्मेदवारलाई निर्वाचित भएको घोषणा गर्नु पर्नेछ । (९) यस नियम बमोजिम एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम हुने निर्वाचनको मतगणना गर्ने सम्बन्धी अन्य व्यवस्था आयोगले स्वीकृत गरेको मतगणना निर्देशिकामा व्यवस्था भए बमोजिम हुनेछ ।